निर्वाचन आयोगले विधानविपरीत निर्णय गरे आन्दोलन चर्काउने चेतावनी
काठमाडौं,माघ २ । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले पार्टी विधान र संविधानविपरीत निर्णय गरे वडा तहदेखि केन्द्रसम्म आन्दोलन चर्काउने चेतावनी दिनुभएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कावा सभापति खड्काले षड्यन्त्र र दबाबका कारण निर्वाचन आयोगले गलत निर्णय गरे कांग्रेस कार्यकर्ता चुप नबस्ने बताउनुभयो। उहाँले पार्टीको केन्द्रीय कार्यसमितिबाहेक कुनै पनि पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार नभएको जिकिर गर्दै आफूहरू नै नेपाली कांग्रेसको आधिकारिक नेतृत्व भएको दाबी गर्नुभयो।
खड्काले सभापतिले दुई वर्षअघि नै क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरिसकेको स्मरण गराउँदै तत्कालीन महामन्त्री गगन थापाले तोकिएको जिम्मेवारी पूरा गर्न नसकेका कारण समयमा महाधिवेशन हुन नसकेको बताउनुभयो। महामन्त्रीहरूले विशेष महाधिवेशन बोलाउन सक्ने अधिकार रहेको भन्ने कुरा सरासर झुट भएको उहाँको आरोप छ।
उहाँले विश्वप्रकाश शर्मा र गगन थापाले पार्टी विभाजन भए आफू बाहिरिने भन्दै ‘विष पिउने’ अभिव्यक्ति दिएर इमानदार नेता तथा कार्यकर्तालाई राजधानी बोलाई विधानविपरीत गतिविधि गरेको आरोप पनि लगाउनुभयो।
गत पुसको अन्त्यतिर काठमाडौंमा सम्पन्न विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। हाल संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच पार्टीको वैधानिकताका लागि निर्वाचन आयोगमा दाबी–प्रतिदाबी चलिरहेको छ।

