सोनाम ल्होछारको अवसरमा पञ्चकन्या गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा



नुवाकोट, माघ २ । जिल्लाको पञ्चकन्या गाउँपालिकाले तामाङ समुदायको महान धार्मिक तथा सांस्कृतिक पर्व सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षको स्वागत गर्दै हर्षोल्लासका साथ मनाइने तामाङ समुदायको पर्व मञ्जुश्री संवत् २८६२ (ता ल्हो–घोडा वर्ष) सोनाम ल्होछारको अवसरमा गाउँपालिकाले तामाङ समुदायसहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गरेको छ।

गाउँपालिकाको मिति २०८२/०९/१७ गते बसेको कार्यपालिकाको बैठकको निर्णयअनुसार सोनाम ल्होछारको उपलक्ष्यमा यही माघ ३ गतेदेखि ०५ गतेसम्म तीन दिन गाउँपालिकाको कार्यक्षेत्रभित्रका गाउँकार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्था तथा अन्य संघ–संस्थाहरूमा स्थानीय पर्व बिदा दिइएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले जारी गरेको सूचनामार्फत उक्त निर्णयको जानकारी गराउँदै सबै सरोकारवाला निकायलाई सोहीअनुसार कार्यसम्पादन गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्