लामिछाने जोडिएको प्रकरणमा सबै प्रतिवादीको मुद्दा फिर्ता गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णय



काठमाडौं,माघ २ । महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जोडिएको मुद्दामा रहेका सबै प्रतिवादीको हकमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको छ।

रविको मात्रै हकमा मुद्दा फिर्ता लिँदा कानुनी त्रुटि भएको ठहर गर्दै कार्यालयले अब सो प्रकरणमा जोडिएका सबै प्रतिवादीमाथि लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको जनाएको छ।

यसअघि बिहीबार महान्यायाधिवक्ता सविता भण्डारीले रवि लामिछानेको हकमा मात्रै उक्त अभियोग फिर्ता लिने निर्णय गरेकी थिइन्। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भइसकेको छ भने नेपाल बार एसोसिएसनले समेत निर्णयको आलोचना गरेको थियो।

चौतर्फी आलोचना र कानुनी प्रश्न उठेपछि महान्यायाधिवक्ताको कार्यालयले सबै प्रतिवादीको हकमा समान रूपमा निर्णय लागू हुने गरी थप निर्णय गरेको हो। कार्यालयको यस निर्णयसँगै सम्बन्धित अदालतहरूमा आवश्यक प्रक्रिया अघि बढाइने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्