गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगको मान्यता
काठमाडौं,माघ २ — निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक रूपमा मान्यता दिने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले चारतारे झण्डा र चुनाव चिन्ह ‘रुख’ सहित गगन थापाले नेतृत्व गरेको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिक कार्यसमिति मान्यता दिएको हो।
आयोगको निर्णयसँगै गगन थापा औपचारिक रूपमा नेपाली कांग्रेसको सभापति भएका छन्। तत्कालीन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। उक्त विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।
विशेष महाधिवेशनबाट उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका थिए। महामन्त्रीमा प्रदीप पौडेल र गुरु बराल चयन हुँदा सहमहामन्त्रीमा महिलाबाट डा. डिला संग्रौला पन्त, दलितबाट प्रकाश रसाइली, आदिवासी–जनजातिबाट बहादुर सिंह लामा, खस–आर्यबाट उदय शम्शेर राणा, मधेसीबाट मुक्ताकुमारी यादव, मुस्लिमबाट फर्मुल्ला मन्सुर, थारूबाट योगेन्द्र चौधरी तथा पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढा चयन भएका थिए।
यसअघि कांग्रेस संस्थापन पक्षले विधान विपरीत गतिविधि गरेको आरोप लगाउँदै महामन्त्रीद्वय थापा, शर्मा र सहमहामन्त्री मन्सुरलाई कारबाही गरेको थियो। विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि गगन थापा नेतृत्वको समूहले निर्वाचन आयोगमा कार्यसमिति अद्यावधिकका लागि निवेदन दिएको थियो।
उक्त निवेदनविरुद्ध संस्थापन पक्षले ८८५ जनाले हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै छुट्टै निवेदन दर्ता गराएको थियो। सबै पक्षको दाबी र कागजात अध्ययनपछि निर्वाचन आयोगले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएको हो।

