कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्यसमिति बैठक आज, आयोगको निर्णयबारे छलफल हुने



काठमाडौं, माघ ३ — नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज बिहान बस्दैछ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश कार्यसमितिका सभापतिहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।

शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि त्यसबारे आवश्यक निर्णय लिन बैठक बोलाइएको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले कांग्रेसको चुनाव चिन्ह ‘रुख’ र चारतारे झण्डा पनि गगन थापा पक्षलाई दिएको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध कांग्रेसको संस्थापन पक्षले कानुनी लडाइँ लड्ने घोषणा गरेको छ। शुक्रबार आयोग पुगेका कार्यवाहक सभापति खड्काले आयोगको निर्णय ‘सेटिङका आधारमा आएको’ आरोप लगाउँदै अस्वीकार गर्ने बताएका थिए।“निर्वाचन आयोगको निर्णय त्रुटिपूर्ण छ, हामी मान्दैनौं,” खड्काले भने। उनले आधिकारिकता दिने क्रममा आयोगले संस्थापन पक्षसँग कुनै राय–सल्लाह नगरेको आरोपसमेत लगाए।

उनले संस्थापन पक्ष विधि, विधान र पार्टीको आन्तरिक प्रक्रियाअनुसार अघि बढेको दाबी गर्दै आयोगको निर्णयप्रति असहमति जनाए। पुस २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। विशेष महाधिवेशनले सभापतिमा गगन थापा, उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे तथा सहमहामन्त्रीमा डिला संग्रौला, प्रकाश रसाइली, बहादुरसिंह लामा, उदयशमशेर जबरा, मुक्ताकुमारी यादव, फर्मुल्लाह मन्सुर, योगेन्द्र चौधरी र कर्णबहादुर बुढालाई निर्विरोध चयन गरेको थियो। थापा सभापति चयन भएपछि बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णयसहित थापा समूहले आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको थियो।

यसैबीच, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न अपील गरेका छन्। निर्वाचन आयोगलाई संविधान, प्रचलित कानुन र पार्टी विधानअनुसार निर्णय गरेकोमा धन्यवाद दिँदै उनले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको दाबी गरे।

यता, संस्थापन पक्षले बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकबाट विशेष महाधिवेशन आह्वान गरी पार्टी नीति विपरीत कार्य गरेको आरोप लगाउँदै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।

प्रतिक्रिया दिनुहोस्