दुप्चेश्वर गाउँपालिकामा सोनाम ल्होछारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम तथा नाटाङ बुद्ध पार्क उद्घाटन



नुवाकोट,माघ ३— दुप्चेश्वर गाउँपालिकाको कार्यालयद्वारा आयोजित मञ्जुश्री सम्वत् २८६२ सोनाम ल्होछार (घोडा वर्ष) को अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान, बृहत् सांस्कृतिक कार्यक्रम तथा नाटाङ बुद्ध पार्क उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रम पुर्वमन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। साथै, पुर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य माननीय राधिका तामाङ विशेष अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर बहादुर थापा, पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष बिमला पाठक के.सी., तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका जननिर्वाचित वडा अध्यक्षहरू तथा विभिन्न राजनीतिक दलका गाउँपालिका स्तरीय नेताहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता दुप्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष माकुरी तामाङले गर्नुभएको थियो। कार्यक्रममा वक्ताहरूले सोनाम ल्होछारले तामाङ समुदायको सांस्कृतिक पहिचान संरक्षणका साथै आपसी सद्भाव र सामाजिक एकतालाई मजबुत बनाउने बताउँदै यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

यस अवसरमा नाटाङ बुद्ध पार्कको औपचारिक उद्घाटन गरिएको हो। पार्क निर्माण कार्य दुई वटा ठेक्कामार्फत सम्पन्न गरिएको दुप्चेश्वर गाउँपालिकाले जनाएको छ। निर्माणमा २ करोड रुपैयाँभन्दा बढी खर्च भएको र समपूरक बजेटको उपयोग गरी योजना कार्यान्वयन गरिएको जानकारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्