निर्वाचन सामग्री ढुवानीका लागि १३ व्यावसायिक संस्था सूचीकृत
काठमाडौं,माघ ३ — निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री ढुवानी गर्न १३ वटा व्यावसायिक संस्थालाई सूचीकरण गरेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्रसहितका निर्वाचन सामग्री तथा अन्य अत्यावश्यक सामग्री ढुवानी गर्न आयोगले कुरियर सेवातर्फ दुईवटा फर्म छनोट गरेको जनाएको छ। सूचीकृत कुरियर सेवा प्रदायकमा साझा कुरियर एण्ड कार्गो र ट्रान्स एयर इन्टरनेसनल लजिस्टिक प्रालि रहेका छन्।
आयोगले हेलिकोप्टर सेवाका लागि पनि फर्म वा कम्पनीलाई सूचीकृत हुन आग्रह गरेको भए पनि हालसम्म कुनै पनि फर्मले आवेदन दर्ता नगरेको जनाएको छ।
त्यसैगरी, ट्रक तथा कन्टेनर सेवामार्फत ढुवानी सेवा उपलब्ध गराउन ११ वटा फर्म सूचीकरणमा परेका छन्। सूचीकृत सेवा प्रदायकमा हिमालयन कार्गो लजिस्टिक, वासुकी ट्रान्सपोर्ट, चितवन रोडवेज क्यारियर, न्यू भैरव ट्रान्सपोर्ट, अदीति ट्रान्सपोर्ट, ओम ट्रान्सपोर्ट, हरहर महादेव ढुवानी सेवा, देउती बज्यै कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, कृष्ण ट्रान्सपोर्ट, धवलागिरि कालिका कन्स्ट्रक्सन एण्ड सप्लायर्स तथा एयर मनकामना कुरियर एण्ड कार्गो प्रालि रहेका छन्।
निर्वाचन आयोगका अनुसार गत पुस १७ गते जारी गरिएको सार्वजनिक सूचनाका आधारमा प्राप्त निवेदनहरूलाई तोकिएको मापदण्ड, शर्त तथा वार्षिक औसत कारोबारको आधारमा मूल्यांकन गरी ती सेवा प्रदायक संस्थालाई सूचीकरण गरिएको हो।
सूचीकृत भएका ती संस्थाहरूलाई निर्वाचन सामग्री आपूर्ति तथा ढुवानीका लागि आवश्यकता अनुसार परिचालन गरिने आयोगले जनाएको छ।

