ईभीको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवकको मृत्यु



बर्दिया,माघ ३ — बर्दियाको मधुवन नगरपालिका–४ स्थित सडक खण्डमा ईभी (विद्युतिय) गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार साँझ करिब ९ बजे बा प्र ०१–०३२च ७५५३ नम्बरको ईभी गाडीले विपरीत दिशाबाट जाँदै गरेको भे ११ प १९२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका २१ वर्षीय सुशील कुमार थारु र पछाडि सवार २५ वर्षीय करण थारु गम्भीर घाइते भएका थिए।

घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको भए पनि राति १० बजेर १० मिनेटमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढोढरीका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिए।

प्रहरीले ईभी गाडीका चालक मधुवन नगरपालिका–४ ढोढरीका २३ वर्षीय विक्रम बोहोरालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्