नुवाकोट एमाले नेता पूर्णलालको प्रश्न : फागुन २१ को निर्वाचन किन र केका लागि?



काठमाडौं,माघ ३ — यही फागुन २१ गते हुन गइरहेको निर्वाचनको औचित्यमाथि एमाले नेता पूर्णलालले गम्भीर प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले निर्वाचन केवल प्रक्रिया पूरा गर्नका लागि मात्र हो कि देश र जनताको वास्तविक समस्याको समाधानका लागि हो भन्ने विषयमा स्पष्टता आवश्यक रहेको बताएका छन्।

उनले लेखेका छन्, “यो निर्वाचन देशको विकास, जनताले भोगिरहेका समस्याको समाधान, संविधानका व्यवहारिक कमजोरीको निकास, निर्वाचन प्रणालीको सुधार तथा प्रदेश संरचनासँग सम्बन्धित विषय समाधानका लागि हो कि केवल निर्वाचनकै लागि?” भन्ने प्रश्न आज गम्भीर रूपमा उठिरहेको छ।

पूर्णलालले आगामी निर्वाचनपछि पनि देश र जनताका आधारभूत समस्या यथावत् रहने हो भने त्यस्तो निर्वाचनको सार्थकता के रहने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार अबका दिनमा सबै राजनीतिक दलहरूले देश र जनताको भविष्यलाई केन्द्रमा राखेर स्पष्ट Terms of Reference (TOR) तयार गरी मात्र निर्वाचनमा जानु आवश्यक छ।

संविधान सुधार, सुशासन, विकास, सामाजिक न्याय, रोजगारी, प्रदेश संरचनाको भूमिका र निर्वाचन प्रणाली सुधारजस्ता विषयमा साझा न्यूनतम प्रतिबद्धता बिना गरिने निर्वाचन केवल औपचारिक प्रक्रियामा सीमित हुने उनको टिप्पणी छ।

उनले आगामी निर्वाचन देश निर्माण र जनअपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै अन्यथा यो निर्वाचन पनि विगतका निर्वाचनझैं केवल सत्ता परिवर्तनको साधनमा सीमित हुने र न देशले निकास पाउने न त जनताको भरोसा जित्न सक्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्