गगन थापा नेतृत्वको कांग्रेसलाई स्वीकारेर अघि बढ्नुको विकल्प छैन : डा. सुनिल शर्मा
काठमाडौं, माघ ३ — नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई स्वीकार गर्दै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भई सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले निर्वाचन आयोगले मान्यता दिएको कांग्रेसको नयाँ नेतृत्वलाई स्वीकारेर संस्थापन पक्षका नेताहरू पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।
उनले संस्थापन पक्षको उत्पीडनका कारण विशेष महाधिवेशन हुन पुगेको उल्लेख गर्दै उक्त महाधिवेशनबाट चयन भएको नयाँ नेतृत्वलाई मिलाएर लैजाने जिम्मेवारी नवनिर्वाचित सभापति गगन थापाकै काँधमा रहेको बताए। साथै, सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायतका नेताहरूले संस्थापन पक्षका नेताहरूलाई पनि समेटेर अघि बढ्ने विश्वास व्यक्त गरे।
डा. शर्माले आगामी निर्वाचनमा नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धा गर्ने र बहुमत ल्याएर गगन थापा प्रधानमन्त्री बन्ने दाबीसमेत गरे। “गगन थापालाई प्रधानमन्त्री बनाउन हामी लाग्नेछौं,” उनले भने।
उनले विगत पाँच वर्षको अवधिमा कांग्रेसभित्र नहुनुपर्ने धेरै घटनाहरू भएको उल्लेख गर्दै संस्थापन इतर समूहका नेताहरूलाई उत्पीडनमा राखिएको आरोप लगाए। टिकट वितरणमा व्यापक चलखेल भएको दाबी गर्दै उनले पार्टीभित्र परिवर्तनको चाहना आम नागरिक, कार्यकर्ता र समर्थकमा रहेको बताए।
“लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हो। प्रतिस्पर्धा नै नहुने हो भने त्यो कम्युनिष्ट प्रणालीजस्तै हुन्छ,” शर्माले भने। डा. शर्माले नेपाली कांग्रेस विभाजित नभएको र अब पार्टीभित्र विवाद गर्ने कुनै आधार नरहेको पनि स्पष्ट पारे।

