देउवा पक्षको निष्कर्ष : गगन थापा नेतृत्वलाई आयोगको मान्यता लोकतन्त्रविरुद्धको षड्यन्त्र
काठमाडौं, माघ ३ — नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले दिएको आधिकारिकता मुलुकको लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्र भएको निष्कर्ष निकालेको छ।
बैठकपछि मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा विशेष महाधिवेशनका नाममा गरिएको भेलाको औचित्य, वैधानिकता र सहभागिता संख्यालाई समेत नहेरी निर्वाचन आयोगले एकलौटी रूपमा निर्णय गरेको आरोप लगाइएको छ। उक्त निर्णय दूषित मनसायबाट प्रेरित रहेको निष्कर्ष बैठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको दुराशयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ।”
बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरलगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ।


