कांग्रेस विभाजनमा प्रधानमन्त्री स्वयं संलग्न रहेको आरोप : एमाले सचिव महेश बस्नेत
काठमाडौं,माघ ३ — नेकपा (एमाले) का सचिव महेश बस्नेतले नेपाली कांग्रेसको विभाजनमा प्रधानमन्त्री सुशीला कार्की स्वयं संलग्न रहेको आरोप लगाएका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव बस्नेतले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएर कानुन विपरीत निर्णय गरेको जिकिर गरे। उनले आयोगको निर्णयलाई नेपाली कांग्रेस र नेकपा (एमाले) दुवैमाथिको प्रहारका रूपमा आफ्नो पार्टीले लिएको बताए।
सचिव बस्नेतले प्रधानमन्त्री कार्की तथा अन्तर्राष्ट्रिय शक्तिहरूको संलग्नतामा कांग्रेसलाई विभाजन गरी नयाँ राजनीतिक शक्तिलाई बलियो बनाउने प्रयास भइरहेको आरोप पनि लगाए। उनका अनुसार यस्तो गतिविधिले मुलुकको लोकतान्त्रिक प्रणाली र स्थिर राजनीतिमाथि गम्भीर प्रश्न उठाएको छ।
उनले निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाउँदै यसले राजनीतिक अस्थिरता निम्त्याउने खतरा रहेको उल्लेख गरे।

