फुर्सदको समयको सदुपयोग गर्दै डोको बुन्दै गोपाली, मासिक २० हजारसम्म आम्दानी
मकवानपुर,माघ ३— मकवानपुरको बज्रबाराही गाउँपालिका अन्तर्गत सरस्वती बजारमा बसोबास गर्दै आएका दुर्गाप्रसाद गोपालीले फुर्सदको समयमा बाँसको डोको बुन्ने काम गरेर राम्रो आम्दानी गर्दै आएका छन्।
खेतीपाती तथा घरायसी कामसँगै समय मिलाएर डोको बुन्दै आएका गोपालीले दिनमा एउटा डोको बुन्न सक्ने भए पनि अन्य कामका कारण महिनामा ८ देखि १० वटा डोको मात्र तयार गर्ने गरेको बताएका छन्।
बाँसको प्रयोगबाट बनाइने उनका डोको स्थानीय बजारमै बिक्री हुने गरेका छन्। ग्राहकहरू घरमै आएर डोको किनेर लैजाने गरेको गोपालीले बताए। डोकोको आकार र भार क्षमताका आधारमा प्रतिवटा एक हजारदेखि १२ सय रुपैयाँसम्म मूल्य पर्ने गरेको उनको भनाइ छ।
यसरी उनले महिनामा करिब १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए। परम्परागत सीपलाई निरन्तरता दिँदै आत्मनिर्भर बन्ने गोपालीको प्रयास स्थानीयस्तरमा प्रेरणादायी बनेको छ।

