प्रथम चिम्टेश्वर कपको उपाधि गल्छी क्रिकेट क्लबलाई



नुवाकोट,माघ ३ — बेलकोटगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा गल्छी क्रिकेट क्लबले आयोजक टोली बेलकोटगढी नगरपालिकालाई ९ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस हारेर पहिले ब्याटिङ गरेको बेलकोटगढी टोली १४.२ ओभरमा ७५ रनमै अलआउट भएको थियो। बेलकोटगढीलाई सस्तो स्कोरमा रोक्न गल्छीका कप्तान रवीन्द्र नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ५ विकेट लिए।

७६ रनको सामान्य लक्ष्य पछ्याएको गल्छी क्रिकेट क्लबले ८ ओभरमै मात्र १ विकेट गुमाउँदै लक्ष्य सहजै पूरा गरेको थियो।

प्रतियोगितामा गल्छी, थार्के, विदुर र बेलकोटगढी गरी चार टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको आयोजना स्थानीय संस्था आरम्भ आर्ट्स ले गरेको हो।

प्रतिक्रिया दिनुहोस्