एमालेले झापा–५ बाट अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय
काठमाडौं,माघ ३ — नेकपा (एमाले) ले झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
शनिबार अबेरसम्म बसेको पार्टी सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार बैठकले अन्य प्रमुख निर्वाचन क्षेत्रका उम्मेदवारसमेत तय गरेको छ।
यसअनुसार उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् भने गुल्मी क्षेत्र नम्बर १ बाट प्रदीप ज्ञवाली उम्मेदवार बनेका छन्।
पार्टीले बाँकी निर्वाचन क्षेत्रका उम्मेदवारहरूको समेत टुंगो लगाइसकेको जनाएको छ। औपचारिक घोषणा भने पार्टीले क्रमशः सार्वजनिक गर्ने बताइएको छ।

