एमालेले फागुन २१ को निर्वाचनका लागि उम्मेदवार टुंग्यायो, ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय
काठमाडौं, माघ ४ — नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।
ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही निर्वाचन क्षेत्रबाहेक अन्य सबै निर्वाचन क्षेत्रका उम्मेदवार तय गरेको बैठकपछि उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार तय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।उपमहासचिव भट्टका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्नेछन् भने निवर्तमान सभामुख देवराज घिमिरे झापा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने निर्णय भएको छ।
त्यसैगरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ तथा उपमहासचिव रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्ने भएका छन्।
बैठकले सचिवद्वय महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनाउने निर्णयसमेत गरेको छ। काठमाडौंका निर्वाचन क्षेत्रहरूमध्ये क्षेत्र नम्बर १ बाट मोहन रेग्मी, क्षेत्र नम्बर २ बाट मणिराम फुयाँल, क्षेत्र नम्बर ३ बाट रामेश्वर फुयाँल, क्षेत्र नम्बर ६ बाट अमनकुमार मास्के, क्षेत्र नम्बर ८ बाट राजेश शाक्य र क्षेत्र नम्बर १० बाट विनोद श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
काठमाडौंका बाँकी निर्वाचन क्षेत्रका उम्मेदवार पार्टी अध्यक्ष ओलीले टुंग्याउने जिम्मेवारी बैठकले दिएको भट्टले बताए। यसैबीच सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णयसमेत गरेको सचिव महेश बस्नेतले जानकारी दिए।

