कांग्रेसको संस्थापन पक्ष आज सर्वोच्च जाने, आयोगको निर्णयविरुद्ध रिट दायर गर्ने तयारी



काठमाडौं, माघ ४ — निर्वाचन आयोगबाट आधिकारिकता नपाएको नेपाली कांग्रेसको पुरानो संस्थापन पक्ष आज सर्वोच्च अदालत जाने भएको छ। शुक्रबार निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिँदै गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता दिएपछि देउवा पक्ष अदालत जाने तयारीमा जुटेको हो।

नेता प्रकाशशरण महतले निर्वाचन आयोगले विधि, विधान र नियमविपरीत निर्णय गरेको दाबी गर्दै त्यसविरुद्ध अदालत जाने तयारी गरिएको बताए। उनका अनुसार वरिष्ठ अधिवक्ता खम्मबहादुर खाती, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरूले रिट निवेदन तयार गरिसकेका छन्।

देउवा पक्षले आयोगको निर्णयविरुद्ध कानुनी प्रक्रियासँगै राजनीतिक प्रतिवादसमेत गर्ने तयारी गरेको जनाएको छ। यसैक्रममा भ्रातृ संगठनमा आबद्ध केही युवाले आज दिउँसो काठमाडौंको माइतीघर मण्डलामा निर्वाचन आयोगविरुद्ध विरोध कार्यक्रम आयोजना गरेका छन्। उनीहरूले गएराति आयोग परिसरमा नाराजुलुससमेत गरेका थिए।

तर, कांग्रेसको अर्को समूह शेखर कोइराला पक्ष भने यी कार्यक्रमहरूमा सहभागी नहुने भएको छ। सानेपामा शुक्रबार बसेको बैठकमा सहभागी शेखर कोइराला पक्षीय नेताहरूले निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिइसकेको अवस्थामा अब पार्टीलाई मिलाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन्। उनीहरूले यसपछि देउवा पक्षले बोलाउने बैठकमा सहभागी नहुनेसमेत जनाएका छन्।शेखर कोइरालाले हिजो संक्षिप्त प्रतिक्रिया दिँदै पार्टीलाई एकताबद्ध बनाएर लैजाने जिम्मेवारी अब सभापति गगन थापाको काँधमा आएको बताएका थिए।

उता, सभापति गगन थापा नेतृत्वको संसदीय बोर्ड भने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार टुंगो लगाउने छलफलमा जुटेको छ। यसै क्रममा गएराति सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले महाराजगञ्ज पुगेर शेरबहादुर देउवासँग छलफल गरेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्