रास्वपा नुवाकोटमा टिकट विवाद चर्किँदै, पाण्डेको राजनीतिक ‘बाली’मा लामिछानेको नजर ?
नुवाकोट,माघ ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आगामी फागुन २१ गते हुने संघीय संसद् निर्वाचनलाई लिएर टिकट वितरणसम्बन्धी चर्चाले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ।
नुवाकोटका पत्रकार राजकृष्ण श्रेष्ठले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रतिक्रियाले यो विषयलाई थप चर्काएको छ। पत्रकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, “रास्वपा नुवाकोटमा टिकटका लागि उपाधिधारी नक्कली डाक्टरको हौवा, पाण्डेको बालीमा लामिछानेको आँखा।” उक्त टिप्पणीले नुवाकोट क्षेत्र नं. २ मा पार्टीभित्र चलिरहेको टिकट विवादलाई सतहमा ल्याएको छ।
आगामी निर्वाचनमा नुवाकोट क्षेत्र नं. २ बाट अघिल्लो निर्वाचनमा रास्वपाका प्रत्याशी रहेका सुमन विक्रम पाण्डेलाई पन्छाउँदै उपाधिधारी कथित डाक्टर अच्युतम लामिछानेलाई टिकट दिने तयारी भइरहेको हल्ला चलेपछि पार्टीभित्र असन्तुष्टिको लहर देखिन थालेको हो।
अघिल्लो निर्वाचनमा झण्डै १८ हजार मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवारलाई पछि पारेर रास्वपालाई दोस्रो स्थानमा पुर्याएका पाण्डेलाई टिकटबाट बञ्चित गर्ने र कोरियाबाट डिपोर्ट भइसकेका उपाधिधारी कथित डाक्टर लामिछानेलाई अघि सार्ने चर्चा सुरु भएसँगै रास्वपा नुवाकोटका कार्यकर्ताहरू आक्रोशित बनेका छन्।
पत्रकार श्रेष्ठका अनुसार, सांगठनिक रूपमा रास्वपाको संरचना बलियो नभएको समयमा पाण्डे स्वयं उम्मेदवार बनेर दिन–रात खटिएका थिए। उनकै अथक मेहनत, लगनशीलता र मतदातासँगको प्रत्यक्ष सम्पर्कका कारण रास्वपाले नुवाकोटमा उल्लेख्य मत हासिल गरेको तथ्य घामजस्तै छर्लङ्ग रहेको उल्लेख गरिएको छ।
सामाजिक सञ्जाल प्रतिक्रियामा भनिएको छ, पाण्डेको कठिन मेहनतबाट फस्टाएको राजनीतिक र चुनावी ‘बाली’मा अहिले मार्शल आर्टका खेलाडीसमेत रहेका उपाधिधारी कथित डाक्टर लामिछानेलाई भित्र्याउने तयारी र बजारहल्लाले रास्वपाको आन्तरिक छविमा प्रश्न उठाएको छ। यसले पार्टीलाई अन्य राजनीतिक दलहरूले आरोप लगाउँदै आएको जस्तै ‘क्लब’को रूपमा सीमित बनाउने जोखिमसमेत बढाएको टिप्पणी गरिएको छ।
यो विषयले नुवाकोटमा मात्र नभई रास्वपाको केन्द्रीय नेतृत्वको निर्णय प्रक्रिया र मापदण्डमाथि समेत प्रश्न उठाउन थालेको छ।

