धरानका मेयर हर्क साम्पाङ र वडा अध्यक्ष मनोजको राजीनामा, सुनसरी–१ मा प्रत्यक्ष चुनावी भिडन्तको तयारी



धरान,माघ ४— धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

आइतबार साँझ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने तयारीस्वरूप दुवै जनाले निर्वाचन कानुनअनुसार उपप्रमुख आइन्द्र बिक्रम बेघा समक्ष राजीनामा पेश गर्नुभएको हो। उल्लेखनीय कुरा के छ भने, दुवै नेता एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा उत्रिन लाग्नुभएको छ।

नगर प्रमुख राई श्रम संस्कृति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने तयारीमा रहनुभएको छ। स्थानीय तहमा श्रमदानको अभ्यास, भ्रष्टाचारविरुद्धको कडा अभियान र जनमुखी कार्यशैलीका कारण उहाँ पछिल्लो समय राष्ट्रिय स्तरमै चर्चामा रहँदै आउनुभएको थियो।

त्यस्तै, धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा निर्वाचनमा होमिन लाग्नुभएको हो। स्थानीय तहमा सक्रिय भूमिका र संगठनात्मक पकड बनाउँदै आउनुभएको भट्टराईको उम्मेदवारीले क्षेत्रीय राजनीतिमा नयाँ समीकरणको संकेत गरेको विश्लेषण गरिएको छ।

दुवै प्रभावशाली स्थानीय जनप्रतिनिधिको एकै क्षेत्रबाट उम्मेदवारीले सुनसरी–१ को निर्वाचन थप रोचक र प्रतिस्पर्धात्मक बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्