मध्यरातदेखि निर्वाचन आचारसंहिता लागू, मंगलबार उम्मेदवारी दर्ता सुरु



काठमाडौँ,माघ ५ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गए मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो। आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले यसबारे जानकारी दिँदै निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गर्न आचारसंहिता आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम आचारसंहिता लागू गरिएको बताउनुभयो।

आचारसंहिताबारे आयोगका पदाधिकारीहरूले आइतबार नै मन्त्रिपरिषद्का सदस्य तथा उच्चपदस्थ सरकारी कर्मचारीलाई जानकारी गराइसकेका छन्। निर्वाचन कार्यतालिकाअनुसार मंगलबार उम्मेदवारको मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ।

यसैबीच, निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने आवश्यक कागजातको विवरण सार्वजनिक गरेको छ।

उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजातहरू

१. उम्मेदवारको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि।
२. कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा।
३. उम्मेदवारी दिँदा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहमा बहाल रहेको वा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थाबाट पारिश्रमिक पाउने पदमा भए राजीनामा दिएको निस्सा।
४. उम्मेदवारको तर्फबाट निर्वाचन प्रतिनिधि तोकिएको भए प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–११ बमोजिमको प्रतिनिधि मुकरर फाराम।
५. सोही निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण तथा सहीछापसहितको मनोनयन पत्र।
६. दलका तर्फबाट उम्मेदवारी दिएको भए सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सो सरहको निकायबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र। संयुक्त रूपमा निर्वाचनमा सहभागी दलका हकमा छुट्टै व्यवस्था लागू हुनेछ।
७. उम्मेदवारले १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर। महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा विपन्न उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था छ।
८. प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको स्वघोषणा पत्र।
९. चल–अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेको खाता, सेयर, ऋणलगायत सम्पूर्ण विवरण उल्लेख गरिएको सिलबन्दी सम्पत्ति विवरण।

प्रतिक्रिया दिनुहोस्