रास्वपाले नुवाकोट–२ बाट अच्युतम लामिछानेलाई टिकट दिँदा पाण्डे पक्ष असन्तुष्ट



नुवाकोट,माघ ५— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ बाट बागमती प्रदेश सभापति अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। टिकट वितरणसँगै अर्का दावेदार सुमन विक्रम पाण्डे पक्ष असन्तुष्ट बनेको छ।

गत निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका पाण्डेले करिब १७ हजार मत प्राप्त गर्दै नेपाली कांग्रेसका अर्जुननरसिंह केसीसँग पराजित भएका थिए। पार्टीको संगठन विस्तारमा सक्रिय भूमिका खेलेका पाण्डेलाई यसपटक टिकट नदिइएपछि पार्टीभित्र असन्तुष्टिका स्वर देखिन थालेका छन्।

रास्वपाले उम्मेदवार छनोट गर्दा पार्टी पदाधिकारी, प्रदेश सभापति, पूर्वसांसदलगायत अनुभवी र संगठन निर्माणमा खटिएका नेताहरूलाई प्राथमिकतामा राख्ने नीति अपनाएको जनाएको छ। सोही नीतिअनुसार बागमती प्रदेशका निर्वाचित सभापति समेत रहेका लामिछानेलाई टिकट दिइएको पार्टी नेताहरूले बताएका छन्। लामिछाने स्वयं उम्मेदवार बन्न इच्छुक भएपछि केन्द्रले उनको नाम अनुमोदन गरेको बताइएको छ।

पार्टीका अनुसार नुवाकोट निर्वाचन क्षेत्र नम्बर २ मा रास्वपाको संगठन तुलनात्मक रूपमा बलियो रहेको छ। विदुर र बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, किस्पाङ र म्यागङ गाउँपालिका समेटिएको उक्त क्षेत्रमा स्विङ मत ‘घन्टी’ चुनाव चिन्हतर्फ आकर्षित हुने अनुमान गरिएको छ। यही आधारमा लामिछानेको जितको सम्भावना राम्रो रहेको पार्टी नेतृत्वको दाबी छ। पार्टी कमिटीका अधिकांश नेताहरूको समर्थन र केन्द्रको विश्वास प्राप्त भएकै कारण लामिछानेले टिकट पाएको बताइएको छ।

यसैबीच, नुवाकोट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट भने राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर विक्रम तिमल्सिनालाई उम्मेदवार बनाएको छ। यस अघि प्रधुम्न महत क्षेत्रीको चर्चा थियोे । क्षेत्री अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट रास्वपाका उम्मेदवार समेत थिए।

प्रतिक्रिया दिनुहोस्