उम्मेदवारी दर्ता गर्न आज झापा जाँदै केपी ओली



काठमाडौँ,माघ ५ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न झापा जाने भएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्न ओली सोमबार बिहान झापा प्रस्थान गर्न लागेका हुन्।

ओली बिहान साढे १० बजे झापा पुग्ने कार्यक्रम रहेको छ भने बिहान १० बजेर २५ मिनेटमा भद्रपुर विमानस्थल अवतरण गर्ने उनको सचिवालयले जनाएको छ। झापा पुगेपछि उनले स्थानीय नेता तथा कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम तय भएको छ।

छलफलपछि ओली झापा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने विर्तामोड पुग्ने र त्यहाँ भेटघाट सकेर दमक जाने कार्यक्रम छ। दमकमा उनले जेनजी आन्दोलनका क्रममा जलाइएको आफ्नै निवाससमेत अवलोकन गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

गत निर्वाचनमा झापा–५ बाट निर्वाचित भएका ओली यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्दैछन्। एमालेले ओलीलाई आगामी प्रधानमन्त्रीका रूपमा अघि सार्ने निर्णय गरिसकेको छ।

यस निर्वाचनमा झापा–५ लाई विशेष चासोका रूपमा हेरिएको छ। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा अघि सारेका बालेन साहले प्रतिस्पर्धा गर्ने तयारी गरेकाले झापा–५ यसपटकको निर्वाचनको केन्द्रविन्दु बन्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्