सुनचाँदीको मूल्य ऐतिहासिक विन्दुमा, सुन तोलामा ४ हजार २०० ले उक्लियो
काठमाडौँ, माघ ५ — साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य ऐतिहासिक उच्च विन्दुमा पुगेको छ। एकैदिन सुनको भाउ ४ हजार २०० रुपैयाँले बढेपछि अहिलेसम्मकै उच्च मूल्य कायम भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार नयाँ रेकर्डमा पुगेको छ। चाँदी प्रतितोला १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। यो मूल्य हालसम्मकै उच्च हो। आइतबार चाँदी प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावका आधारमा निर्धारण हुने गर्दछ। पछिल्लो समय विश्व बजारमा सुनको मूल्य बढ्दै जाँदा त्यसको असर नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

