भोलिदेखि प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता, देशभर तयारी पूरा
काठमाडौँ,माघ ५— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गर्न सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन आयोगका अनुसार देशभर रहेका ८८ मुख्य निर्वाचन अधिकृतका कार्यालय र ८८ निर्वाचन अधिकृतका कार्यालयमा आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको छ। आयोगले भोलि (माघ ६ गते) उम्मेदवारको मनोनयनपत्र दर्ता प्रक्रिया सुरु हुने जनाएको छ।निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार मुलुकभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयमा उम्मेदवारको नाम मतदाता नामावलीमा छ वा छैन भन्ने रुजु गर्न आवश्यक सामग्री समयमै पुर्याइएको छ।
यसपटक आयोगले निर्वाचन आचारसंहितामै उल्लेख गरी उम्मेदवारले अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था गरेको छ।उम्मेदवारले सम्पत्ति विवरण खामबन्दी गरी पेस गर्नुपर्ने सहायक प्रवक्ता जिसीले जानकारी दिए।
उनका अनुसार उम्मेदवारले स्वघोषणामार्फत आचारसंहिता पालना गर्ने, कानुनले अयोग्य ठहराएमा उम्मेदवारी रद्द हुन मञ्जुर गर्ने तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको पालना गर्ने प्रतिबद्धता जनाउनुपर्नेछ।
निर्वाचन आयोगले मनोनयनपत्र दर्ता प्रक्रिया शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षलाई आग्रह गरेको छ।

