राप्रपाले नुवाकोटमा उम्मेदवार टुंग्यायो, क्षेत्र १ मा विमल थापा र २ मा झनक प्याकुरेल



नुवाकोट,माघ ६ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको छ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकका अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट विमल थापालाई उम्मेदवार बनाइएको छ। थापा विगतदेखि नै राप्रपामा सक्रिय रहँदै आएका नेता हुन्। उनी डा. लोहनीको सिफारिसमा उम्मेदवार बनेका हुन्।

यस्तै, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट झनक प्याकुरेललाई पुनः उम्मेदवार बनाइएको छ। प्याकुरेल यसअघिको निर्वाचनमा पनि प्रत्यक्षतर्फ उम्मेदवार बनेका थिए। उनी २०४८ सालदेखि निरन्तर रूपमा राप्रपामा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्।

पार्टी पदको हिसाबले प्याकुरेल राप्रपाका सहमहामन्त्री हुन् भने विमल थापा राप्रपा नुवाकोटका वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा छन्। थापा २०५४ सालमा तत्कालीन थानसिङ गाविस वडा नम्बर २ बाट वडा अध्यक्ष निर्वाचित हुँदै इलाका सदस्यसमेत बनेका थिए।

त्यसैगरी, प्याकुरेल पूर्व जिविस सभापति समेत रहिसकेका छन्। पार्टीले अनुभवी र संगठनमा लामो समयदेखि खटिएका नेताहरूलाई उम्मेदवार बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्