‘म अभिमन्यु होइन’— अदालतको सुनुवाइबीच रवि लामिछानेको भावुक फेसबुक स्टाटस



काठमाडौं,माघ ६— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रतिनिधिसभा निर्वाचनको माहोलबीच आफूविरुद्ध चलिरहेका मुद्दा र अदालती प्रक्रियालाई लिएर भावुक फेसबुक स्टाटस सार्वजनिक गरेका छन्।

देशभर उम्मेदवारी मनोनयन दर्ताको रौनक चलिरहँदा आफू भने पूर्ण रूपमा उत्साहित भएर सहभागी हुन नसकेको लामिछानेले उल्लेख गरेका छन्। उनले पर्सा, काठमाडौं र रुपन्देहीका अदालतमा एकैदिन आफ्ना मुद्दाको सुनुवाइ चलिरहेको जानकारी दिँदै भर्खरै पर्सा जिल्ला अदालतबाट बाहिरिएको बताएका छन्।

लामिछानेले चितवन–२ मा आफ्ना शुभेच्छुकहरू बाटो कुरिरहेको उल्लेख गर्दै सकेसम्म आफैं उपस्थित भएर मनोनयन दर्ता गर्ने प्रयासमा रहेको र सम्भव नभए वारेसमार्फत मनोनयन दर्ता हुने स्पष्ट पारेका छन्।

फेसबुक स्टाटसमा उनले आफूविरुद्ध अन्याय र अत्याचार गरिएको आरोप लगाउँदै त्यसको हिसाब–किताब नेपाली जनताले फागुन २१ गते ‘घण्टी बजाएर’ दिने दाबी गरेका छन्। सहकारीसँग कुनै सम्बन्ध नरहेको व्यक्तिलाई मुद्दै मुद्दा लगाइएको भन्दै उनले आफूलाई फसाइएको आरोप समेत लगाएका छन्।

“म माथि गरिएको अत्याचारको परिणाम इतिहासले लेख्दैछ,” भन्दै उनले दोषी ठानिएका व्यक्तिहरू रसातलतर्फ गइरहेको दाबी गरेका छन्। साथै, आफूले प्रतिशोध नभइ न्यायको बाटोबाट सबैको ‘गुण तिर्ने’ बताएका छन्।

स्टाटसको अन्त्यमा लामिछानेले आफूलाई कमजोर पात्रको रूपमा नलिन आग्रह गर्दै स्पष्ट शब्दमा लेखेका छन्— “फेरि पनि भन्छु, म अभिमन्यु होइन।”

रवि लामिछानेको यो अभिव्यक्तिपछि सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया देखिएको छ भने चुनावी माहोलमा यसले थप राजनीतिक तरंग सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस्