एमालेबाट नुवाकोट–१ मा बद्री मैनालीको मनोनयन दर्ता, दुवै क्षेत्रमा जित सुनिश्चित हुने दाबी
नुवाकोट,माघ ६— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा जिल्ला अध्यक्ष बद्री मैनालीले मनोनयन दर्ता गराएका छन् ।मैनालीले निर्वाचन कार्यालय खरानीटारमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। अघिल्लो निर्वाचनमा माओवादी–कांग्रेस गठबन्धनसँग झिनो मतान्तरले पराजित भएका मैनालीले यसपटक पुनः प्रतिस्पर्धामा उत्रिएका छन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मैनालीले यसपटक नुवाकोटका दुवै निर्वाचन क्षेत्रमा एमालेको जित सुनिश्चित हुने दाबी गरे। अघिल्लो निर्वाचनमा गठबन्धनसँग प्रतिस्पर्धा गर्दा मतान्तर अत्यन्तै न्यून रहेको उल्लेख गर्दै उनले अहिले देश निर्माण गर्ने स्पष्ट शक्ति एमाले मात्र भएको बताए। उनले जनताको विश्वास र समर्थनका आधारमा यसपटक विजय हासिल गर्ने विश्वास व्यक्त गरे।
यसैबीच, नुवाकोट निर्वाचन क्षेत्र नं. २ मा पनि नेकपा (एमाले) का तर्फबाट केशव पाण्डेले मनोनयन दर्ता गराएका छन्। पाण्डे बागमती प्रदेशका पूर्वमन्त्री हुन् भने मैनाली पूर्वराज्यमन्त्रीसमेत हुन्।

