नेकपाबाट नुवाकोट–१ मा हितबहादुर तामाङको मनोनयन दर्ता
नुवाकोट,माघ ६— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।
तामाङले निर्वाचन कार्यालय खरानीटारमा पुगेर मनोनयन दर्ता गराएका हुन्। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका तामाङ यसपटक पुनः प्रतिस्पर्धामा उत्रिएका हुन्।
उम्मेदवारी दर्तापछि पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै तामाङले पछिल्लो समय देशमा देखिएको राजनीतिक अवस्था, आन्दोलन र जनआक्रोशबारे आफ्नो धारणा राखे। उनले जेन्जी आन्दोलनमार्फत नवयुवाले भ्रष्टाचारविरुद्ध आवाज उठाएको उल्लेख गर्दै त्यस विषयलाई तत्कालीन सरकारले गम्भीर रूपमा लिनुपर्ने बताए।
उनले विभिन्न राजनीतिक शक्तिहरूबाट आन्दोलनलाई लिएर आरोप–प्रत्यारोप भएको उल्लेख गर्दै संविधान र व्यवस्थाविरोधी तत्वहरूले पनि सो समय चलखेल गरेको दाबी गरे। त्यस्ता गतिविधिका कारण मुलुक अस्थिरताको दिशातर्फ गएको उनको भनाइ थियो।
तामाङले फागुन २१ गते हुने निर्वाचनलाई अस्वीकार गर्न नसकिने अवस्था रहेको बताउँदै यदि निर्वाचन सफल नभए नेपाली जनतामाथि थप अन्याय र अत्याचार थोपरिन सक्ने चेतावनी दिए। त्यसकारण लोकतान्त्रिक प्रक्रियाबाट नेकपाको जित आवश्यक रहेको उनको भनाइ थियो।
साथै, उनले जनताको आवश्यक माग र समस्या प्रत्यक्ष रूपमा बुझ्न आफूहरू जनताको घरदैलोमा पुग्ने प्रतिबद्धता व्यक्त गरे।

