प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौँ,माघ ७— प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारविरुद्ध आज (बुधबार) उजुरी दिन सकिने भएको छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत मनोनयन दर्ता भएका उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न आजको दिन तोकिएको हो।
आयोगका अनुसार प्राप्त उजुरी तथा मनोनयनपत्रको जाँचबुझ गरी आवश्यक निर्णयसहित माघ ८ गते बेलुका ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
यस्तै, माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता कार्यक्रम देशभरका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार यसपटक कुल २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ। तीमध्ये ३३६ महिला र २ हजार ५८९ पुरुष उम्मेदवार रहेका छन्। यस्तै, ८५ जना अपाङ्गता भएका व्यक्ति र १३८ जना पिछडिएको क्षेत्रबाट उम्मेदवारी परेको आयोगले जानकारी दिएको छ।

