प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ ३ हजार ४८४ जनाको उम्मेदवारी दर्ता



काठमाडौँ,माघ ६ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ ३ हजार ४८४ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगका अनुसार मंगलबार तोकिएको समयसीमाभित्र ६८ राजनीतिक दलबाट २ हजार २९७ जना र स्वतन्त्रतर्फ १ हजार १८७ जना उम्मेदवारको मनोनयन दर्ता भएको हो।

फागुन २१ गते देशभर १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन हुँदैछ। आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको थियो।

निर्वाचन आयोगले मनोनयन दर्ता प्रक्रिया देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको जनाएको छ। अब निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारविरुद्ध उजुरी, नाम फिर्ता र अन्तिम नामावली प्रकाशनको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्