पश्चिमी वायुको आंशिक प्रभाव कायमै, तराईमा हुस्सुको सम्भावना
काठमाडौँ,माघ ६ — हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको जनाइएको छ।
त्यसैगरी कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने चेतावनी दिएको छ। तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध आउनसक्ने तथा लामो र छोटो दूरीका सवारी साधन सञ्चालन गर्दा चालकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

