ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते
स्याङ्जा,माघ ७— स्याङ्जाको वालिङबाट चापाकोटतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार दिउँसो वालिङबाट ढुंगा बोकेर गइरहेको लु ३ त ५१७३ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा वालिङ नगरपालिका–७ केवरे निवासी ६५ वर्षीय डोलराज कोइराला र कैलालीको टिकापुर नगरपालिका–७ निवासी ३५ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको छ। घाइते अवस्थामा उनीहरूलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो, जहाँ उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।
यसै दुर्घटनामा चार जना घाइते भएका छन्। घाइते हुनेमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ का २८ वर्षीय लालबहादुर सुनार, कैलालीको लम्की नगरपालिका–५ का २२ वर्षीय श्याम चौधरी र ३९ वर्षीय लक्ष्मण चौधरी, तथा दाङको राप्ती गाउँपालिका–५ का ३५ वर्षीय हुकुमबहादुर दर्लामी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीका अनुसार घाइतेहरूको वालिङ स्वास्थ्य केन्द्रमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

