म्याग्दी हत्या प्रकरण: युवतीको हत्यामा संलग्न आरोपमा श्रीमान् पक्राउ



म्याग्दी,माघ ७— म्याग्दीको धवलागिरि गाउँपालिका–७, झिनडाँडामा गत माघ ३ गते राति एक युवतीको हत्या भएको घटनामा संलग्न आरोपमा मृतककै श्रीमान् पक्राउ परेका छन्।

राति घरबाट शौचालय जान निस्किएकी २० वर्षीया पुनमाया विकको धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पोखरा महानगरपालिका–२३ ठुलाखेत निवासी ३२ वर्षीय रमेश कामीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सागर तिमिल्सिनाका अनुसार कामीलाई पोखराको बिरौटाबाट नियन्त्रणमा लिइएको हो।

घटनाबारे विभिन्न अनुसन्धान विधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्दा मृतकका श्रीमान्कै संलग्नता पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वयमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा तथा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको संयुक्त टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो।

प्रहरीका अनुसार दम्पतीबीच केही महिनादेखि वैवाहिक सम्बन्धमा खटपट रहेको र माइतमा बस्दै आएकी पुनमायालाई अभियुक्तले योजनाबद्ध रूपमा पोखराबाट ढोरपाटन हुँदै झिनडाँडास्थित माइतीघरको बाहिर कुरेर रातको समयमा धारिलो हतियार प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। अभियुक्तले घटनामा संलग्नता स्वीकार गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका कामीबाट घटनामा प्रयोग गरिएको भनिएको रगतजस्तो रातो दाग लागेको कम्ब्याट, रेड्मी मोबाइल फोन तथा एनसेल र एनटिसीका सिमकार्ड बरामद गरिएको छ। ज्यानसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

उल्लेखनीय छ, गत माघ ३ गते राति करिब ११ बजे शौचालय जान घरबाट बाहिर निस्कने क्रममा पुनमाया विकमाथि धारिलो हतियार प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनलाई प्रदेश अस्पताल म्याग्दी, बेनी ल्याइएकोमा उपचारकै क्रममा सोही राति करिब २ः२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्