सिन्धुपाल्चोकका दुई निर्वाचन क्षेत्रबाट ३६ जनाको मनोनयन दर्ता
सिन्धुपाल्चोक,माघ ७ — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चोक जिल्लाका दुई निर्वाचन क्षेत्रबाट कुल ३६ जनाले मनोनयन दर्ता गराएका छन्।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट १८ जना र क्षेत्र नम्बर २ बाट पनि १८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। मुख्य निर्वाचन अधिकृत रिताकुमारी बख्रेलका अनुसार दुवै क्षेत्रबाट १५/१५ जना विभिन्न राजनीतिक दलका तर्फबाट र ३/३ जना स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्।
सिन्धुपाल्चोक–१ का उम्मेदवार
सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिष्ट पार्टीका माधव सापकोटा, नेकपा (एमाले) का शरेश नेपाल, नेपाली कांग्रेसका जंगबहादुर लामा, राष्ट्रिय स्वतन्त्र पार्टीका भरतप्रसाद पराजुली, उज्यालो नेपाल पार्टीका प्रताप लामा, श्रम संस्कृति पार्टीका फुर्वा तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका राममणी न्यौपाने तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का समिर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट म्हेन्दो तामाङ, नागरिक सर्वोच्चता पार्टीबाट सेरबहादुर तामाङ, मंगोल नेशनल अर्गनाइजेशनबाट कर्णबीर स्यांबु लामा, आम जनता पार्टीबाट गणेशबहादुर श्रेष्ठ, मितेरी नेपाल पार्टीबाट महेश कुँवर, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दावा छिरिङ शेर्पा तथा राष्ट्रिय मुक्ति पार्टी नेपालबाट मिङमार तामाङले उम्मेदवारी दिएका छन्।
यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा सुन्दर अधिकारी, विजु श्रेष्ठ र दिपक ढकालले मनोनयन दर्ता गरेका छन्।
मुख्य निर्वाचन अधिकृत बख्रेलका अनुसार निर्वाचन कार्यक्रमअनुसार बुधबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ता प्रक्रिया सम्पन्न भएको हो।

