निर्वाचन सुरक्षाका लागि इजाजतपत्र प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन नुवाकोटको निर्देशन
नुवाकोट,माघ ७ — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय नुवाकोटले इजाजतपत्र प्राप्त व्यक्तिगत हातहतियार बुझाउन निर्देशन दिएको छ।
प्रशासनले जारी गरेको सूचनाअनुसार व्यक्तिगत रूपमा राखिएका सबै इजाजतपत्र प्राप्त हातहतियारहरू यही माघ २० गतेभित्र नजिकको प्रहरी कार्यालय वा प्रहरी इकाईमा लगत रहने गरी बुझाउनुपर्नेछ।
सूचनामा निर्वाचन सम्पन्न भएको एक महिना पश्चात् सम्बन्धित हातहतियारको लगत कट्टा गरी फिर्ता गरिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
निर्धारित समयभित्र हातहतियार नबुझाएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासन कार्यालयले दिएको छ। प्रशासनले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित बनाउन सबै नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।


