राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा
काठमाडौँ,माघ ८— राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। आगामी फागुन २० गते राष्ट्रिय सभाका १९ जना सदस्यको पदावधि सकिँदै छ। पदावधि सकिन लागेका १९ मध्ये १८ सदस्यका लागि माघ ११ गते मतदान हुने निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार मतदानमा प्रयोग हुने मतपत्र छापेर सम्बन्धित प्रदेशहरूमा पठाइसकिएको छ। साथै सात वटै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयले मतदानका लागि आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो। सात वटै प्रदेशको राजधानीमा एकै दिन मतदान हुने छ।सङ्घीय संसद् सचिवालयका अनुसार कोशी प्रदेशबाट तीन, मधेशबाट चार, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमबाट दुई/दुई तथा लुम्बिनीबाट तीन जना सदस्य निर्वाचित हुने छन्।
कोशी प्रदेशबाट महिला, दलित र अन्य समूहबाट एक/एक जना गरी तीन जना, मधेश प्रदेशबाट महिला, दलित, अपाङ्गता भएका वा अल्पसङ्ख्यक व्यक्ति र अन्य समूहबाट एक/एक जना गरी चार जना सदस्य निर्वाचित हुने छन्। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिला र अन्य समूहबाट एक/एक जना गरी दुई/दुई जना सदस्य निर्वाचित हुने छन् भने लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता भएका वा अल्पसङ्ख्यक तथा अन्य समूहबाट एक/एक जना गरी तीन जना सदस्य निर्वाचित हुने छन्। एक जना सदस्य राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ।
आयोगका अनुसार १८ पदका लागि हुने निर्वाचनमा १८ प्रकारका छुट्टाछुट्टै मतपत्र छापिएका छन्। निर्वाचित हुने समूहअनुसार सबै पदका लागि फरक–फरक मतपत्र प्रयोग गरिने छ। उम्मेदवारको नामसहितका मतपत्र छापिएका छन्। सहायक प्रवक्ता न्यौपानेका अनुसार पालिका प्रमुख, उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षका लागि र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै रङका मतपत्र प्रयोग गरिने छ। पालिकाका मतदाताका लागि सेतो पृष्ठभूमिमा रातो रङको मतपत्र र प्रदेश सभा सदस्यका लागि सेतो पृष्ठभूमिमा हरियो रङको मतपत्र प्रयोग हुनेछ।
राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनअनुसार सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्य तथा प्रदेशभित्रका गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र नगरपालिका प्रमुख–उपप्रमुख सम्मिलित निर्वाचन मण्डलले मतदान गर्ने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ र पालिकाका मतदाताको मतभार १९ रहेको आयोगले जनाएको छ। मतदाताले दिएको मतलाई मतभारसँग गुणन गरी प्राप्त हुने कुल मतभारका आधारमा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ।

