गठबन्धनबिनाको निर्वाचनले दलहरूको वास्तविक शक्ति परीक्षण हुने
काठमाडौँ, माघ ८ — नेपालको संविधान, २०७२ जारी भएपछिका आवधिक निर्वाचनमा गठबन्धन र तालमेल गर्दै आएका प्रमुख राजनीतिक दलहरू यसपटक भने एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिने भएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दलहरूको साङ्गठनिक क्षमता र जनविश्वासको वास्तविक परीक्षण हुने विश्लेषकहरूले बताएका छन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीसहित अधिकांश दलहरूले निर्वाचनपूर्व कुनै पनि गठबन्धन नगर्ने निर्णय गरेका छन्। कांग्रेसले सत्ता–स्वार्थकेन्द्रित गठबन्धन नगर्ने निर्णय गरिसकेको छ भने एमाले, नेकपा र रास्वपाले पनि एकल प्रतिस्पर्धाको घोषणा गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार निर्वाचनपूर्वको गठबन्धनले दलको वास्तविक शक्ति देखाउन नसक्ने र कार्यकर्ता निरुत्साहित हुने अवस्था सिर्जना गर्ने गरेको थियो। यसपटक एकल प्रतिस्पर्धाले दलहरूको धरातलीय अवस्था स्पष्ट देखिने र संगठन थप चलायमान हुने अपेक्षा गरिएको छ।
विश्लेषकहरूले निर्वाचनपछि आवश्यकता अनुसार सरकार निर्माणका लागि सहकार्य हुन सक्ने भए पनि निर्वाचनअघि गठबन्धन नगर्ने निर्णयलाई सकारात्मक कदमका रूपमा लिएका छन्।

