सुक्खा र प्रदूषणको मार खेपिरहेको नेपालमा वर्षा गराउने बादल भित्रिँदै
काठमाडौँ,माघ ८ — लामो समयदेखि सुक्खा, खडेरी र वायुप्रदूषणको चपेटामा परेको नेपालमा अब वर्षा गराउने बादल भित्रिने संकेत देखिएको छ। प्रदूषित र चिसो मौसमको अवस्था छिचोल्दै पानी पार्ने प्रणाली नेपालतर्फ प्रवेश गर्न लागेको मौसमविद्हरूले जनाएका छन्।
मौसमविद् डेविड ढकालका अनुसार शुक्रबारदेखि बलियो मौसम प्रणाली नेपाल भित्रिने सम्भावना छ, जसले पश्चिम नेपालका अधिकांश भूभागमा वर्षा गराउने अनुमान गरिएको छ।
“सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म उक्त प्रणालीको प्रभाव पर्न सक्छ, अन्य क्षेत्रको अवस्थाबारे विश्लेषण जारी छ,” उहाँले बताउनुभयो। जल तथा मौसम विज्ञान विभागका अनुसार लामो समयदेखि वर्षा नहुँदा कायम रहेको सुक्खा अवस्थालाई यो प्रणालीले केही हदसम्म कम गर्ने अपेक्षा गरिएको छ। यद्यपि हिउँद याम अन्त्यतर्फ रहेकाले देशभर समान रूपमा वर्षा नहुने सम्भावना रहेको विभागले जनाएको छ।
तुवाँलो र धुलोले वातावरण धुमिल
सुक्खा बढेसँगै नेपालका विभिन्न भागमा वायुप्रदूषण र तुवाँलोको समस्या बढ्दै गएको छ। वर्षा नहुँदा धुलोका कण वायुमण्डलमै थुनिएर बिहान–बेलुका तुवाँलो लाग्ने गरेको छ भने दिउँसो समेत घामको किरण छेकिँदा वातावरण धुमिल देखिन थालेको छ।
वायुप्रदूषण उच्च स्तरमै
वातावरण विभागका अनुसार हिउँद याम सुरु भएसँगै देशका विभिन्न स्थानमा वायुप्रदूषण उच्च स्तरमै रहेको छ। विशेषगरी काठमाडौँ, पोखरालगायत ठूला सहर र तराईका अधिकांश क्षेत्रमा पीएम २.५ सूक्ष्म धुलो कणको मात्रा खतरनाक तहमा पुगेको विभागले जनाएको छ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार चिसोका कारण प्रदूषित कणहरू फैलिन नसक्नु र लामो समयसम्म वर्षा नहुनु वायुप्रदूषण बढ्नुका मुख्य कारण हुन्।
गत २४ घण्टामा रत्नपार्क स्टेसनमा वायु गुणस्तर सूचक (AQI) १६१ मापन गरिएको छ, जुन अस्वस्थकर श्रेणीमा पर्छ। इलाममा पनि समान स्तरको प्रदूषण देखिएको छ भने भक्तपुर र दाङमा १५५ भन्दा माथिको वायु गुणस्तर सूचक रेकर्ड भएको छ। सुर्खेत, खुमलटार र शङ्खपार्कलगायतका स्थानको हावा पनि अस्वस्थकर अवस्थामा रहेको छ।
विभागका अनुसार वायुप्रदूषणको प्रभाव हिमाली क्षेत्रसम्म पुगेको छ। मुस्ताङ र अछामसम्म प्रदूषित हावा पुगेको अनुगमन प्रणालीले देखाएको छ। वर्षा सुरु भएमा वायुप्रदूषण र तुवाँलो केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

