रेशम चौधरीको उम्मेदवारी खारेज
काठमाडौँ, माघ ८ — प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको मनोनयन खारेज भएको छ।
निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको मौखिक जानकारी निर्वाचन आयोगलाई दिएको स्रोतले जनाएको छ। चौधरी २०७२ सालमा भएको कैलालीको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन्। उनी राष्ट्रपतिबाट आममाफी पाएर जेलमुक्त भएका थिए।
यसअघि जेलमै रहँदा चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका थिए। शपथ ग्रहण गरे पनि कानुनी कारणले उनी सांसदका रूपमा बहाल रहन सकेका थिएनन्।
यसपटकको निर्वाचनका लागि देशभर पाँच जना उम्मेदवारविरुद्ध उजुरी परेकोमा चार स्थानमा दाबी नपुगेको भन्दै उजुरी खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ। रौतहट–१ मा माधव नेपालविरुद्ध परेको उजुरी बुधबार नै दरपिठ गरिएको थियो।
त्यस्तै भक्तपुर–२ मा दुई जना र सुनसरी–२ मा एक जना उम्मेदवारविरुद्ध उजुरी परे पनि दाबी नपुगेपछि कुनै कारबाही नभएको निर्वाचन आयोगले जानकारी दिएको छ।

