बाल सुधारगृहमा झडप र आगजनी



भक्तपुर, माघ ९ — मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित बाल सुधारगृहमा गए राति झडप र आगजनी भएको छ। सुधारगृहभित्र रहेका दुई समूहबीच भएको विवाद झडपमा परिणत हुँदै आगजनी र तोडफोड भएको हो।

झडप सुरु भएपछि थिमि प्रहरी वृत्तका प्रमुख नवराज ढुङ्गानाको नेतृत्वमा प्रहरी टोली सुधारगृह पुगेर स्थिति नियन्त्रणमा लिन प्रयास गरेको थियो। तर झडपमा संलग्न दुवै समूहले प्रहरीमाथि ढुङ्गामुढा गरेपछि स्थिति नियन्त्रण बाहिर गएको प्रहरीले जनाएको छ।

स्थिति गम्भीर बन्दै गएपछि सशस्त्र प्रहरी बलका करिब ५० जना सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसपछि मध्यरातमा भक्तपुर र काठमाडौँका वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
थिमि प्रहरी वृत्तका अनुसार सुधारगृहमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ। हाल उक्त सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी जम्मा १६९ जना रहेका छन्।

हाल अवस्था नियन्त्रणमा आए पनि सुरक्षाका लागि सुधारगृह परिसरमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी तैनाथ गरी निगरानी बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्