नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, प्रधानमन्त्री उम्मेदवार घोषणा प्रस्ताव पेश हुने



काठमाडौँ, माघ ९ — नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका सचिव प्रकाश शर्माले जानकारी दिनुभयो।

दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरू पहिलो पटक केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा सहभागी हुन लागेका हुन्। उपसभापति पुष्पा भुसालका अनुसार सभापति गगनकुमार थापासहित पदाधिकारीहरूले पदभार ग्रहण गरेपछि बैठक सुरु हुनेछ।

बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राखी सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने प्रस्ताव प्रस्तुत गरिने छ। साथै निर्वाचन अभियान सञ्चालनका लागि विभिन्न समिति गठन गर्ने तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ।

यता, नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन्। पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न १३औँ महाधिवेशनपछि मुख्य सचिवमा नियुक्त भएका पौडेलले बिहीबार उक्त पदबाट राजीनामा दिएका हुन्।

राष्ट्रिय सभा सदस्यसमेत रहेका पौडेलले मुख्य सचिव पदबाट राजीनामा दिए पनि पार्टी गतिविधिमा निरन्तर सक्रिय रहने स्पष्ट पारेका छन्।

प्रतिक्रिया दिनुहोस्