राप्रपा नुवाकोट–१ को बैठकका सात निर्णय, निर्वाचन परिचालन तीव्र बनाइने
नुवाकोट, माघ ९ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) क्षेत्र नम्बर १ नुवाकोटको आज बसेको बैठकले निर्वाचन केन्द्रित सात महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकमा राप्रपाका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीको उपस्थिति रहेको थियो।
बैठकले सहायक महामन्त्री दीपककुमार राईको संयोजकत्वमा क्षेत्रीय निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ। त्यसैगरी, समानुपातिक उम्मेदवार कान्छा लामाको नेतृत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ, जसका सदस्यमा जनकराज पाठक र कृष्ण लामा रहेका छन्।
केन्द्रीय सदस्य भरतप्रसाद पाठकको संयोजकत्वमा राजनीतिक परिचालन समिति गठन गरिएको छ भने केन्द्रीय सदस्य जनकराज पाठककै संयोजकत्वमा प्रचारप्रसार समिति गठन गर्ने निर्णय भएको छ। उक्त समितिमा जनार्दन अधिकारी र कविन्द्र ढकाल सदस्य रहेका छन् र आवश्यकता अनुसार अन्य सदस्य थप गरिने जनाइएको छ।त्यसैगरी, महिला परिचालनका लागि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य तुलसा पौडेललाई संयोजक चयन गरिएको छ।
फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै विभिन्न गाउँपालिकामा विस्तारित बैठक गर्ने कार्यतालिका पनि तय गरिएको छ। जसअनुसार माघ १२ गते लिखु, १३ गते शिवपुरी, १४ गते दुप्चेश्वर, १५ गते पञ्चकन्या, १६ गते ककनी, १७ गते तादी र १८ गते सूर्यगढी गाउँपालिकामा बैठक बस्नेछ।
यसैगरी, नुवाकोट क्षेत्र नम्बर १ बाट काठमाडौँमा बसोबास गर्ने नुवाकोटे समुदायसँग भेटघाट कार्यक्रम आयोजना गर्न बाबुराम थापाको संयोजकत्वमा राप्रपा नुवाकोट–काठमाडौँ समन्वय समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ। समितिमा शिवपुरी काठमाडौँ सम्पर्क समाजका संयोजक श्रीराम ढुंगाना लगायतका सदस्य रहनेछन्। बैठकले पार्टी संगठन विस्तार र निर्वाचन परिचालनलाई प्रभावकारी बनाउने लक्ष्यसहित कार्यक्रम अघि बढाउने जनाएको छ।

