एमाले जिल्ला कमिटीका ३८ नेता नेकपामा प्रवेश
काठमाडौं — नेकपा (एमाले) ओखलढुंगाको जिल्ला कमिटीका अधिकांश पदाधिकारी तथा सदस्यहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको नवदुर्गा पार्टी भेन्युमा आयोजित विशेष कार्यक्रममा जिल्ला कमिटीका ३८ जना नेता–कार्यकर्तालाई नेकपाले औपचारिक रूपमा स्वागत गरेको हो।नेकपामा प्रवेश गर्नेमा जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का, उपाध्यक्ष कमलप्रसाद न्यौपाने, सचिव अशोक थापा, उपसचिव राजिव कट्वालसहित जिल्ला कमिटीका अधिकांश पदाधिकारी र सदस्यहरू रहेका छन्।
उनीहरूले सोही दिन काठमाडौंमै पत्रकार सम्मेलन गर्दै एमालेबाट सामूहिक राजीनामा दिएको घोषणा गरेका थिए। उनीहरूको आरोपअनुसार जिल्ला कमिटीबाट अम्बिरबाबु गुरूङ, यज्ञराज सुनुवारसहित पाँच जनाको नाम उम्मेदवारका लागि सिफारिस गरिए पनि ती नामलाई बेवास्ता गर्दै अस्मिता थापालाई उम्मेदवार बनाइएको थियो। उम्मेदवारी छनोटमा स्वेच्छाचारिता र गुटगत निर्णय भएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्।
उम्मेदवारी प्रक्रियाप्रति असन्तुष्ट अम्बिरबाबु गुरूङले यसअघि नै एमाले परित्याग गरिसकेका थिए। नेकपाले उनलाई ओखलढुंगाबाट उम्मेदवार बनाएको जनाएको छ।
एमाले ओखलढुंगामा देखिएको आन्तरिक असन्तुष्टि र सामूहिक पार्टी प्रवेशले जिल्लाको राजनीतिक समीकरणमा महत्वपूर्ण परिवर्तन आउने संकेत देखिएको छ।

