देशका पहाडी क्षेत्रमा बदली, उच्च भूभागमा हिमपातको सम्भावना
काठमाडौँ, माघ १० — हाल नेपालमा पश्चिमी वायुको प्रभाव कायम रहेको छ। यसको असरका कारण सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली देखिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने जनाइएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने र अन्य स्थानमा आंशिक बदली रहने पूर्वानुमान छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

