रामेछापमा निर्वाचन प्रहरी भर्नाको म्याद पुनः थप
रामेछाप,माघ १० — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन प्रहरी भर्ना, छनोट तथा नियुक्तिको समय पुनः थप गरिएको छ। निर्वाचन प्रहरी भर्ना समिति रामेछापले आवेदन दिने म्याद माघ १० र ११ गतेसम्मका लागि दुई दिन थप गरेको जनाएको छ।
जिल्लामा आवश्यक संख्यामा आवेदन नपरेपछि पुनः म्याद थप गरिएको जिल्ला प्रहरी प्रमुख भोला भट्टले जानकारी दिए। रामेछाप जिल्लामा कुल एक हजार ३३३ जना निर्वाचन प्रहरी आवश्यक पर्ने भए पनि हालसम्म ९०० जनाले मात्रै आवेदन दिएका छन्। ती आवेदकमध्ये छनोट भएका व्यक्तिहरूलाई तालिम दिने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरी नायब उपरीक्षक भट्टका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन समिति एकीकृत कार्यविधि–२०८२ अनुसार यसअघि प्रकाशित सूचनामार्फत शारीरिक परीक्षण, सहिष्णुता तथा लिखित परीक्षामा सहभागी हुन छुट भएका तथा नयाँ आवेदन दिन इच्छुक उम्मेदवारहरूलाई समेत माघ ११ गतेसम्म आवेदन दिन अवसर प्रदान गरिएको छ।

