भारी हिमपातले सुदूरपश्चिमका राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिम — भारी हिमपातका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पर्ने मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। बैतडीका नारखोली, खोडपे, श्रीभावर, सतबाँझ र देहिमाडौँ क्षेत्रमा हिमपात भएपछि दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि बन्द भएका हुन्।
राजमार्ग अवरुद्ध हुँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिनुभयो। उहाँका अनुसार हिमपातकै कारण विद्युत् सेवा समेत अवरुद्ध बनेको छ। “रातिको भारी हिमपातले राजमार्ग र विद्युत् सेवा दुवै ठप्प छन्, पुनः सञ्चालनका लागि पहल भइरहेको छ,” उहाँले भन्नुभयो।
यस्तै, डडेल्धुराको साहुखर्क र हगुल्टेलगायत क्षेत्रमा हिमपात हुँदा भीमदत्त राजमार्ग पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकादेखि बैतडीसहित दार्चुला, बझाङ, डोटी र डडेल्धुराका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भइरहेको छ।
यस वर्ष पहिलो पटक परेको हिउँदे वर्षा र हिमपातले किसान भने उत्साहित भएका छन्। चार महिनादेखि वर्षा नहुँदा सुक्दै गएका हिउँदे बालीलाई राहत पुगेको स्थानीय किसानहरूले बताएका छन्। वर्षा र हिमपातपछि बाली सप्रिने आशा बढेको उनीहरूको भनाइ छ।
तर अत्यधिक हिमपातसँगै चिसो बढेपछि यहाँको जनजीवन भने प्रभावित बनेको छ। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

