विमानस्थलमा आफुलाई सुन तस्करझैँ जाँच गरिएको ओलीको गुनासो



काठमाडौँ, माघ १० — नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विमानस्थलमा सुन तस्करझैँ व्यवहार गरिएको गुनासो गर्नुभएको छ।

आज पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले झापाबाट काठमाडौँ फर्किने क्रममा विमानस्थलमा असहज जाँच गरिएको बताउनुभयो। उहाँले जाँच प्रक्रिया सामान्यभन्दा कडा भएको उल्लेख गर्दै आफूलाई अनावश्यक रूपमा हैरानी दिइएको दाबी गर्नुभयो।

“अस्ति जाँदा राम्रो व्यवहार थियो, तर फर्किँदा सुन तस्करीजस्तै गरेर जाँच गरियो। विदेश जाँदा पनि चिनेका ठाउँमा यस्तो व्यवहार हुँदैन। किन यस्तो गरेको भनेर सोध्दा ‘माथिबाट आदेश आएको’ भनियो,” ओलीको भनाइ उद्धृत गर्दै कार्यक्रममा सहभागीहरूले बताएका छन्।

उहाँले वर्तमान सरकार नेताहरूलाई अपमानित गर्ने ढङ्गले प्रस्तुत भइरहेको आरोप लगाउँदै यस्तो व्यवहारप्रति आपत्ति जनाउनुभयो। साथै, देशको राजनीतिक अवस्था र आगामी कदमबारे पार्टीभित्र छलफल भइरहेको संकेत पनि उहाँले गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्