अफगानिस्तानमा भारी हिमपात : ६१ मृतक, ११० घाइते
काबुल, माघ १० — अफगानिस्तानमा बुधवार र बिहीवार भएको भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले शनिबार जानकारी दिएको छ।
प्राधिकरणका अनुसार आँधीबेहरी र हिमपातका कारण ४५८ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक तथ्याङ्कअनुसार घाइतेको संख्या ११० भन्दा बढी छ। एनडिएमएको विज्ञप्तिमा भनिएको छ, “हिमपात र वर्षाका कारण भएको हताहतीको विवरण सङ्कलन गर्ने काम अझै जारी छ। हताहतको संख्या बढ्न सक्छ।”
गत तीन दिनयता अफगानिस्तानका अधिकांश क्षेत्रले चिसो तापक्रम र भारी हिमपातको सामना गर्नुपरेको छ। यसका कारण राजधानी काबुल र अन्य प्रान्तहरूलाई जोड्ने धेरै प्रमुख राजमार्ग र सडक अवरुद्ध भएका छन्।

