राष्ट्रिय सभा निर्वाचन आज : १७ सिटका लागि मतदान हुँदै
काठमाडौं, माघ ११— राष्ट्रिय सभाका रिक्त १७ सिटका लागि आज निर्वाचन हुँदैछ। निर्वाचन आयोगका अनुसार मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएका मतदान केन्द्रमा हुनेछ।
कुल १८ सिट रिक्त भए पनि नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेकाले बाँकी १७ सिटका लागि मतदान हुन लागेको हो। यस निर्वाचनमा प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ हजार ४३ मतदाता कायम छन्।
केही प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुखहरूले प्रतिनिधि सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पदबाट राजीनामा दिएकाले मतदाताको यकिन संख्या निर्धारण गर्ने काम जारी रहेको आयोगले जनाएको छ।
निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ तोकिएको छ। आयोगले आजको निर्वाचनका लागि सबै तयारी पूरा भएको जनाएको छ।

