नुवाकोटको झिल्टुङमा दौडियो जोश र पहिचान : ४ सयभन्दा बढी धावकको सहभागिता



नुवाकोट,माघ ११ — ‘झिल्टुङ क्रसकन्ट्री दौड’ प्रतियोगिताको दशौँ संस्करण शनिबार रूपमा सम्पन्न भएको छ। “जे गरौँ : गज्जबले गरौँ” नारासहित बेलकोटगढी नगरपालिकाको गौरवको योजना अन्तर्गत पालिकास्तरीय पर्वका रूपमा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका राष्ट्रियस्तरका खेलाडीहरू सहित करिब चारसय धावकको उत्साहजनक सहभागिता रहेको थियो।

शनिबार सम्पन्न प्रतियोगिता बेलकोटगढी नगरपालिका भित्र पर्ने साविकका दुईपिपल, जिलिङ र रातमाटे गाविसको पहिचान बोकेको झिल्टुङ क्षेत्रमा आयोजना हुँदै आएको छ। यस दौडले पहाडी जीवनशैलीको प्रवर्द्धन, खेल क्षेत्रको विकास तथा पर्यटन प्रबर्द्धनमा महत्वपूर्ण टेवा पुर्‍याउँदै आएको नगरप्रमुख जगतबहादुर गुरुङले बताउनुभयो।

उहाँका अनुसार प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडी, भेट्रान धावक, खुला छात्र–छात्रा, स्थानीय महिला (आमा समूह) तथा पुरुष (बा समूह) गरी विभिन्न १० विधामा देशका ३८ जिल्लाबाट ४ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगिताले स्थानीय खेल प्रतिभा उजागर गर्नुका साथै झिल्टुङ क्षेत्रको प्राकृतिक सौन्दर्य र सांस्कृतिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्